बागमती प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा सन्तुलन कायम गर्न माग गरेका छन् । सोमबार बसेका २ वटा प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले चालु आर्थिक वर्षको बजेटमा देखिएका कमीकमजोरी सच्याउँदै सन्तुलित र व्यवहारिक बजेट ल्याउन माग गरेका हुन् ।प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले नागरिकहरूको जीवन स्तर लक्षित कार्यक्रम ल्याउन सुझाव दिए । छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्षका १८ जना सांसदहरूले बजेटलाई व्यवहारिक बनाउन सुझाव दिएका हुन् ।
प्रदेश सरकारले जनताको आयस्तर उकास्ने र उत्पादन तथा उत्पादक वृद्धिमा जोड दिएर आफ्ना नीति तथा कार्यक्रम निर्देशित गर्नुपर्ने उनीहरुले बताएका थिए । सांसदहरूले विकास बजेटमा पदीय हैसियत देखिने गरी विनियोजन गर्न नहुने भन्दै विधि र प्रक्रिया अनुसार आवश्यकताको आधारमा कार्यक्रम निर्धारण गर्नुपर्ने बताए । भौतिक विकाससँगै आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा सरकारको जोड हुनुपर्ने उनीहरूको भनाई छ ।कृषि क्षेत्र र पर्यटन विकासमा सरकारले व्यवहारिक योजनासहित कार्यान्वयनमा अघि बढ्न उनीहरुले आग्रह गरेका छन् । व्यवहारिक र सिप युक्त शिक्षा, सर्वसुलभ स्वास्थ्य, नागरिकमैत्री प्रशासन र गुणस्तरिय सेवा प्रवाहमा सरकारले ध्यान दिन जरुरी रहेको उनीहरुले बताए ।
प्रतिक्रिया