Breaking

नेदरल्याण्ड्ससँग नेपाल पराजित

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८,४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओडाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९,२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।

एक दशकपछि दोस्रो पटक टी २० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो . एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ राम्रो हुन सकेन ।चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपनि गतिलो साथ पाउन सकेनन् ।

लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।नेपालका लागि दोस्रो पटक टी २० विश्वकप खेल्ने एक मात्र खेलाडी सोमपाल कामी शून्यमा आउट भए । अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन् ।