रसुवा : रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला आजबाट सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदा देखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा गंगा दशहरा मेला लाग्ने गर्दछ ।
मेला सुरु भएसँगै तीर्थयात्रीहरूको आवागमन सुरु भएको छ । मेला १० दिनसम्म सञ्चालन हुनेछ । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती छ ।
कुण्डमा स्नान गरी गोसाइबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनि हजारौ भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
प्रतिक्रिया