Breaking

मेलम्ची नदी धमिलो हुनासाथ काठमाण्डौमा पानी पठाउन बन्द गर्ने आयोजनाको तयारी

मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति कम गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरेको समितिका कार्यकारी निर्देशकले बताउनुभयो ।

समितिले गएको जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बाग्मती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बाग्मती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ ।

मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मेलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदि ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन शुरु भएमा धमिलो पानी आएको १० मिनेटभित्र मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो ।