कभर स्टोरी

मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट काठमाडौंमा पानी वितरण गर्न मन्त्री यादवको निर्देशन

खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी वितरण गर्न निर्देशन दिएका छन्।शनिबार सुन्दरी जलस्थित मेलम्ची सुरूङ आउटलेटको निरीक्षण गर्ने क्रममा मन्त्री यादवले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतहरूबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

उनले काठमाडौंबासीको लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे।उनले भने, ‘मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण वस्तु पानी हो। काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्। बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ, मन्त्रालयबाट म व्यवस्था गर्छु।’

मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोतहरू प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए। उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे।मन्त्री यादवले काठमाडौंमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनेहरूको मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजनाहरू पनि सुनाए।उनले भने, ‘पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौं।’