विचार/अन्तर्वार्ता

सिन्धुलीको नेत्रकाली स्वास्थ्य चौकी भवनको माननिय दाहालद्धारा उद्घाटन

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ नेत्रकाली बेलबोटमा नवनिर्मित स्वास्थ्य चौकी (वर्थिङ्ग सेन्टर) भवनको उद्घाटन गरिएको छ । दुर्गम मानिने उक्त क्षेत्र लामो समयको प्रतिक्षा पछि निर्माण सम्पन्न भवनको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दैै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरे ।
स्वास्थ चौकीका लागि आवश्यक उपकरण र कर्मचारी दबन्दीका विषयमा संघीय सरकारमार्फत उपलब्ध गराउन पहल गर्ने दाहालले प्रतिबद्धता जनाए । ‘शिक्षा, स्वास्थ्य र रोजगार संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसैले आवश्यक दरबन्दी र सामग्रीका लागि बजेट व्यवस्थापन गर्नु सरकारको दायित्व हो । संघीय सरकारमा यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु,’ उनले भने ।

घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले विकास निर्माणमा जनप्रतिनिधिहरु एक ढिक्का भएर अगाडी बढ्न नसक्दा समस्या हुने गरेको बताए । उनले राजनितिक दलहरु प्रति लक्षित गर्दै भने, ‘विकासका कुरामा एक हुनपर्छ । कोहि उत्तर फर्किने कोहि दक्षिण फर्किने भयो भने विकास हुन सक्दैन, त्यस कारण दक्षिण फर्कदा पनि एकैचोटि फर्किनु पर्छ । उत्तर फर्कदा पनि एकैचोटि फर्किनु पर्छ अनि मात्र विकास सम्भव छ,’ अध्यक्ष भोलनले भने ।
अध्यक्ष भोलनले सिन्धुली जिल्लाकै विकट गाउँपालिका भएको सबै तहका सरकारले विकास निर्माणमा प्राथमिकतामा राख्नुपर्ने बताउँदै सांसद दाहाललाई प्राथमिक क्षेत्रका रुपमा राखिदिन आग्रह गरे ।
गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले घ्याङलेख गाउँपालिकाको ५ वटा वडाको स्वास्थ्य चौकीमध्ये सबैभन्दा पहिलो पटक ४ नम्बर वडालाई बजेट परेपनि जमिनको अभावको कारण अन्य वडामा भवन बनिसक्दा पनि भवन निर्माणमा समस्या भएको गुनासो राखे ।