काठमाडौँ । विश्वभरका परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फम्र्स’ (स्काएफ)को आयोजनामा मंसिर ३ देखि ५ गतेसम्म उक्त सम्मेलन हुन लागेको आयोजक स्काएफले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबाट उद्घाटन हुने उक्त सम्मेलनमा फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीससहित २३ देशको प्रतिनिधि तथा १०० जनाभन्दा बढी अन्तर्राष्ट्रिय र ३०० जना राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरूको सहभागिता हुनेछ आयोजक स्काएफका महासचिव ई. कमल कार्कीले बताए । ‘Governance for Climate Shocks’ भन्ने मुख्य विषयवस्तु रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पर्यावरणीय विपदलाई सम्बोधन गर्ने प्राविधिक तथा नितिगत विषयमाथि ७ वटा विशिष्टिकृत शिर्षकमा ३ दिनसम्म छलफल चल्ने छ । विपदको जोखिमले आक्रान्त बनिरहेको सन्दर्भमा विश्व समुदायका लागि नेपालमा हुन लागेको उक्त सम्मेलन फलदायी हुने विश्वास आयोजकको छ ।
विश्वभरका सम्पूर्ण परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था फिडिकको पूर्णकालिन सदस्यको रुपमा १ असोज, २०५४ देखी स्काएफले नेपाललाई प्रतिनिधित्व गर्दै आइरहेको छ । फिडिक इन्टरनेशनलको ५ वटा क्षेत्रीय उपसमितिहरू मध्ये एशिया प्रशान्त समितिको सकृय सदस्यको रुपमा समेत स्काएफ कृयाशिल रहेको छ । उक्त समितिअन्तर्गतका विभिन्न उपसमितिहरूमा समेत नेपालबाट प्रतिनिधित्व रहेको छ ।
हरेक वर्ष फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना हुने गर्दछ । अघिल्लो पटक फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन थाईल्याण्डको बैंककमा आयोजना भएको थियो भने आउँदो वर्ष सन् २०२५ को सम्मेलन ईन्डोनेशीयाको बालीमा हुनेछ । यसै सन्दर्भमा १५ वर्षको अन्तरालमा यसपटक नेपालले फिडिक एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने अवसर प्राप्त गरेको स्काएफका महासचिव ई. कमल कार्कीले जानकारी दिए । यसअघि सन् २००९ मा पनि नेपालले एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । विश्वभर नै प्रायः पूर्वाधार विकास सम्बन्धी परियोजनाका सम्झौताहरू फिडिक करार बमोजिम हुने गर्दछन् । नेपालमा पनि अन्तर्राष्ट्रीय दातृ निकायहरूको ऋण तथा अनुदानमार्फत हुने विकास निर्माणका आयोजनाहरू तथा अन्तर्राष्ट्रीय प्रतिष्पर्धामार्फत गरिने सार्वजनिक खरिद फिडिक कन्ट्रायक्टमा आधारित रहने गर्दछन् । नेपालमा वास्तुकला तथा इन्जिनियरिङ्गका विविध प्राविधिक क्षेत्रहरूमा परामर्श सेवा प्रदान गर्ने फर्महरूको साझा मञ्चको रुपमा २०४७ सालमा स्थापना भएको नेपाली परामर्शदात्री संस्थाहरूको छाता संगठन स्काएफ परामर्श क्षेत्रको उत्थानको लागी सक्रिय रहँदै आएको छ । निर्माण व्यवसाय ऐन २०५५ मार्फत स्काएफको भूमिकालाई नेपाल सरकारले समेत पहिचान गरेको छ । देश विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार विकासलाई दिगो तथा वातावरण मैत्री बनाउन नविनतम प्रविधिको उपायोग गरी जल, वातारण, आवास, यातायात, पर्यावरण, सूचना प्रविधिलगायतका विशिष्टिकृत विषयमा परामर्श सेवा उपलब्ध गराउने फर्महरू सदस्य रहने प्रावधान रहेको स्काएफमा हाल २७३ वटा परामर्शदातृ फर्महरूको आबद्धता रहेको छ ।
प्रतिक्रिया