Breaking

अर्जुन घर्ति मगर अखिल (क्रान्तिकारी) पशुपति क्याम्पस सभापति पदका उम्मेदवारमा सर्वसम्मत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिका अध्यक्ष अर्जुन घर्ति मगर आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदका उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएका छन्। २०७४ सालदेखि अखिल (क्रान्तिकारी) को संगठित सदस्यका रूपमा विद्यार्थी आन्दोलनमा सक्रिय रहेका घर्ति मगर २०७८ सालमा पशुपति बहुमुखी क्याम्पस समितिको सदस्य, २०८० सालमा उपाध्यक्ष हुँदै हाल अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। विद्यार्थीका हक, हित, र अधिकारको रक्षा गर्दै गुणस्तरीय तथा समान पहुँचयुक्त शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी घोषणा गरेका छन्।

उनले शिक्षाको व्यापारीकरण अन्त्य गर्दै वैज्ञानिक, सर्वसुलभ, र निःशुल्क शिक्षाको व्यवस्था लागू गर्न दबाब सिर्जना गर्ने बताएका छन्। साथै, क्याम्पसमा छात्रवृत्ति, पुस्तकालय, र प्रयोगशाला सुविधाहरूलाई प्रभावकारी बनाउने, भ्रष्टाचार तथा अनियमितताको अन्त्य गर्दै शैक्षिक संस्थामा पारदर्शिता कायम गर्ने आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारे। त्यस्तै, खेलकुद, संस्कृति, र सिर्जनात्मक गतिविधिको प्रवर्द्धन गर्दै विद्यार्थीका हकहित संरक्षण र शिक्षामा आमूल परिवर्तनका लागि उनले सबै विद्यार्थीलाई भोट दिन आग्रह गरेका छन्।

उम्मेदवार सिफारिस घोषणासभामा अखिल ९क्रान्तिकारी० का केन्द्रीय महासचिव रोशन थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व केन्द्रीय समिति सचिव मदन लिम्बू, उपत्यका विशेष प्रदेश सचिव रमेश आचार्य, पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद रिजाल, सुदन बडाल, जल बहादुर बुढा, कमल न्यौपाने, विषम स्यन्ताङ तथा नवनिर्वाचित केन्द्रीय सदस्य प्रशान्त कठायतको पनि उपस्थिति रहेको थियो।