राजनीति

खेलकुद मन्त्रीको राजीनामाको मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानको आन्दोलन सुरू

काठमाडौं – खेलकुद मन्त्रीको राजीनामा, भ्रष्टाचारमा संलग्न भनिएका निर्देशक रामप्रसाद भट्टराईको छानबिन तथा संगठन सुधारको मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानले मंगलबारदेखि आन्दोलन सुरू गरेको छ। चार सूत्रीय माग अघि सार्दै अभियानको पहिलो चरण अन्तर्गत एक घण्टा मौनधर्ना कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल स्काउटमा भइरहेका बिकृति र विसंगतिहरूको विरुद्ध आवाज उठाउँदै सुधारको माग गर्दै पारदर्शिता र शुद्धीकरणका पक्षमा एकजुट हुन नेपाल स्काउट प्रगतिशील संघर्ष समितिका संयोजक पुण्यराम गोथे, शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारी, साथै राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक, वरिष्ठ स्काउटर तथा स्काउटरहरू धर्ना कार्यक्रममा सहभागी भए। शुद्धीकरण अभियानले नेपाल स्काउटको आन्तरिक सुधार तथा सुदृढीकरण गर्ने उद्देश्य सहित आगामी चैत १ गतेदेखि चरणबद्ध आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको छ। शुद्धीकरण अभियानका संयोजक र प्रगतिशील संघर्ष समितिका संयोजकद्वयले सम्पूर्ण सरोकारवालाहरू एवं स्काउट प्रेमीहरूलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।