राजनीति

दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन

बैशाख, २०८२ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको आकस्मिक रुपमा स्थलगत निरीक्षण गर्नु भएको छ । विस्तारको क्रममा रहेको सो सडक खण्डको निरीक्षणका क्रममा दाहाल सहितको टोलीले दाउन्ने क्षेत्रमा भई रहेको निर्माण कार्य बारे समेत जानकारी लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भुधरातलका कारण सवारी साधनहरु केहि समय बन्द गराएर विस्तारको काम भई रहेको छ । सवारी आवागमन रोकेर काम गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको गुनासो समेत आउने गरेको छ । तर सके सम्म कम समस्या हुने गरि समय व्यवस्थापन गरेर निर्माणको काम भई रहेको आयोजनाले जनाएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा विस्तार भई रहेको सडकको सो खण्डलाई प्राथमिकताका साथ निर्माणको काम अघि बढाईएको आयोजनाको भनाई छ ।
दाउन्ने क्षेत्रको निरीक्षणका क्रममा मन्त्री दाहालले सवारी साधन तथा यात्रुलाई सके सम्म कम समस्या हुने गरि निर्माणलाई गति दिन निर्देशन दिनुभयो । झरी पर्ने शुरु हुन लागेकाले त्यस तर्फ ध्यान दिँदै उहाँले वर्षायाम अघिनै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन उहाँको निर्देशन छ । सडक विस्तार तथा निर्माणको कार्य गरि रहेको एडिवी आयोजनाले सो जटिल सडक खण्डलाई परम्परागत भन्दा फरक शैलीबाट द्रुत र दिगो बनाउने गरि काम भई रहेको जनाएको छ । आयोजना निर्देशक चुडाराज ढकालले सो स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्रे भन्दा ढलान प्रविधि उपयुक्त हुने बताउनु भएको छ । सोहि कारण त्यस खण्डमा जतिसक्दो छिटो सडक ढलान गरि सवारी आवागमन सहज बनाउने प्रयास भई रहेको उहाँले जनाउनु भएको छ ।