Breaking

हरि श्रेष्ठले पाए फिडे आर्बिटर उपाधी

काठमाडौं । साइप्रसको राजधानी निकोसियामा सम्पन्न पहिलो FIDE Council Meeting 2025 ले नेपालका राष्ट्रिय बुद्धिचाल निर्णायक हरि कृष्ण श्रेष्ठलाई FIDE Arbiter (FA) उपाधि प्रदान गरेको छ। समाजसेवी, व्यवसायी, फोटोपत्रकार एवं बुद्धिचाल खेलाडी श्रेष्ठले अन्तर्राष्ट्रिय चेस निर्णायकको रूपमा नेपाललाई नयाँ गौरव दिलाएका छन्। हरि कृष्ण श्रेष्ठ ललितपुर जिल्लाका महालक्ष्मी नगरपालिकाका पहिलो र एकमात्र FIDE Arbiter हुन्। साथै, उनी नेपालका सक्रिय तथा प्रतिष्ठित चेस निर्णायकहरूमध्ये एक मानिन्छन्। FIDE Arbiter उपाधि प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा निर्णायकको रूपमा भूमिका निर्वाह गर्नुका साथै निर्धारित परीक्षा तथा मापदण्डहरू पूरा गर्नु आवश्यक हुन्छ। श्रेष्ठले ती सबै शर्तहरू पूरा गर्दै उपाधि हासिल गरेका हुन्।

उनको यो उपलब्धिले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय चेस प्रतियोगिताहरूको व्यवस्थापनमा नयाँ व्यावसायिकता र विश्वसनीयता थपिने विश्वास गरिएको छ। साथै, नेपाल बुद्धिचाल महासंघ तथा सम्पूर्ण नेपाली बुद्धिचाल समुदायका लागि यो एक गौरवपूर्ण उपलब्धि भएको छ। FIDE Arbiter को रूपमा श्रेष्ठले आगामी दिनहरूमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निर्णायक भूमिका निर्वाह गर्दै नेपालको प्रतिनिधित्व गर्नेछन्, जसले नेपालको बुद्धिचाल खेलको अन्तर्राष्ट्रिय पहिचान अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।