काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षा तथा दुर्घटना न्युनिकरण कुनै एक निकायको मात्र सरोकार नरहेको बताउनु भएको छ । सडक विभागसँगको सहकार्यमा सडक साथीले शनिवार गरेको कार्यक्रममा उहाँले यो वहुपक्षिय र बहुसरोकारवाला विषय भएकाले सवै क्षेत्रहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । सडक सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षित संरचना निर्माण, प्रभावकारी कानून निर्माण तथा कार्यान्वयन, दर्विलो नियमन लगायतका विषयहरु कुनै एक मन्त्रालय वा निकायको क्षेत्राधिकार भित्र मात्र नरहेको उहाँले उल्लेख गर्नुभयो । ‘हामीले धेरै भन्दा पनि सुरक्षित सडक बनाउन आवश्यक छ, त्यस तर्फ हामी लागि सकेका छौं’ मन्त्री दाहालले भन्नुभयो, ‘तर दुर्घटनाको कारक सडक मात्र नभएर मानवीय त्रुटी, यान्त्रिक गडबडी, प्रतिकुल मौषम, लापर्वाही, सडक तथा सवारी नियमबारे जानकारीको अभाव जस्ता विषयहरु पनि रहेकाले सवै पक्षको सहकार्यमा यस तर्फ लाग्न जरुरी भई सकेको छ ।’
सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागि उच्च भारका सवारी साधन सञ्चालनमा कडाई गरिएको, सडक मर्मतलाई नियमित र प्रभावकारी बनाईएको, योजना तर्जुमा गर्दानै सडक सुरक्षालाई प्राथमिकतामा राख्ने गरिएको भन्दै उहाँले पैदलयात्रीहरुमा समेत सडक सुरक्षा र नियमबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न सडक विभागका महानिर्देशक रामहरी पोखरेल सहित विभिन्न विज्ञहरुको प्यानलमा सडक सुरक्षा तथा सरोकारका विषयमा छलफल समेत गरिएको संस्थाका संस्थापक निपुर्ण न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया