राष्ट्रिय थारू कलाकार मञ्चद्वारा आयोजित बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।विश्व संगीत दिवसको अवसरमा शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा देशैभरका थारू कलाकारहरूले आफ्नो मौलिक गीतसहित प्रस्तुतिहरू दिएका छन् ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पुर्व सांसद रेशम चौधरीले गरेका थिए ।
कार्यक्रममा बोल्दै चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे ।
उनले भने, “मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सुरु गरेको सांस्कृतिक क्रान्ति सुरु गरे। जब गणतन्त्र आयो, उनीहरुले थारूको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन् । मलाई थुने।अनि राजनीतिमा म बाध्य भएर आउनु पर्यो ।”आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुतिहरू दिने राष्ट्रिय थारू कलाकार मञ्चका महासचिव विजय चौधरीले बताए ।
उनका अनुसार कार्यक्रममा बीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरीको ग्रुप डान्स, सोमति थारूलगायत देशभरका राष्ट्रिय कलाकारहरूले आ–आफ्नो क्षेत्र, ठाउँमा बोलिने थारू भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुतिहरू दिएका थिए ।विहान ११ बजेदेखि राति ७ बजे सम्म चलेको कार्यक्रममा चारजना अग्रज स्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया